महाशिवरात्री सेवा क्याम्प

महाशिवरात्री सेवा क्याम्प

महाशिवरात्री २०७८ को अवसरमा नेपाल स्काउटले पशुपति क्षेत्रमा महाशिवरात्री सेवा क्याम्प सम्पन्न गरेको छ । शिवरात्री पर्वको अवसरमा स्काउटले विगत लामो समयदेखि सञ्चालन हुँदै आएको सेवा क्याम्पमा यसवर्ष ६०० भन्दा बढी रोभर, रेन्जर तथा स्काउट स्वयंसेवक लिडरहरूको सक्रिय सहभागिता रहेको थियो ।

सेवा क्याम्पको समुदघाटन तथा समापन नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीले गर्नुभएको थियो । सेवा क्याम्पको समुदघाटन र समापन समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्वयंसेवाको कार्यमा स्काउटले आफुलाई अग्रमोर्चामा सधैं उभ्याउँदै आएको बताउँदै स्वयंसेवी रोभर रेन्जरहरुको हौसला अभिवृद्धि गर्नुभएको थियो । नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले यो क्याम्प स्वयंसेवकहरुका लागि गरेर सिक्ने ठूलो अवसर भएको बताउँदै आफ्नो अनुभव बाँडने क्रममा स्वयंसेवीहरुले ध्यान दिनुपर्ने विषयमा जानकारी दिनुभएको थियो । बागमति प्रदेश स्काउट तदर्थ समिति सदस्य श्री अजित लामा क्याम्प चीफ रहनुभएको सो सेवा क्याम्पमा उपत्यकाका तीनै जिल्लाका क्र्यु लिडरहरुको नेतृत्वमा रोभर, रेन्जर स्काउटहरु उपस्थित रही सेवामा रहेका थिए ।

उपत्यकाकै विभिन्न स्थानहरुमा पनि सेवा क्याम्प र सरसफाई कार्यक्रमहरु आयोजना गरिएको छ । भक्तपुरको डोलेश्वर र दत्तात्रेय मन्दिरमा रोभर रेन्जर स्काउटहरुले दर्शनार्थी भक्तजनहरुको लागि सेवा क्याम्प सञ्चालन गरेका थिए । उक्त स्थानहरुमा ९० जना रोभर रेन्जरहरु तथा स्काउट लिडरहरु सेवामा सम्मिलित रहेका थिए ।

शिवरात्री पर्वकै अवसरमा प्रदेश स्काउट कार्यालयको समन्वयमा स्थानीय स्काउट कार्यालयहरुले विभिन्न स्थानमा सेवा क्याम्प, सरसफाई कार्यक्रम आदि सम्पन्न गरेका छन् । कर्णाली प्रदेशमा जुम्लाको चन्दननाथ लगायतका शिव मन्दिरहरुमा १८ जना स्काउट स्वयंसेवीहरुले सेवा प्रदान गरेका थिए । मधेश प्रदेशको सर्लाहीमा रहेको चतुर्भुजेश्वर मन्दिरमा ४८ जना स्काउटहरुले स्वयंसेवा गरेका थिए ।