समुदाय-प्रहरी साझेदारी

समुदाय-प्रहरी साझेदारी

[:en]नेपाल प्रहरीको अपराध रोकथाम, सामुदायिक सचेतना अभिवृद्धि र समग्रमा सामुदायिक सुरक्षाको प्रणालीगत सुधार गरी शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समुदाय-प्रहरी साझेदारी’ को अवधारणा र नेपाल स्काउटको “बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरूप अनुशासित, स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिबृद्धि गर्दै देश विकासको कार्यमा सहभागी गराउने लक्ष्य प्राप्तिका लागि संस्थागत साझेदारी निर्माण गरी साझा उद्देश्य र कार्यक्रमहरु एकीकृत रुपमा कार्यान्वयन गर्ने उद्देश्यले नेपाल प्रहरी र नेपाल स्काउट बीच मिती २०७६/१०/१५ गतेका दिन समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल स्काउटका तर्फबाट नेपाल स्काउटका राष्ट्रिय तदर्थ समीतिका संयोजक श्री लोक बहादुर भण्डारी ज्यू र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरिक्षक श्री सर्बेन्द खनाल ज्यूले हस्ताक्षर गर्नु भएको छ ।

अब नेपाल प्रहरी र नेपाल स्काउट बीच केन्द्रीय तहदेखि जिल्ला, पालिकास्तरसम्म ‘समुदाय-प्रहरी साझेदारी’ को अवधारणा अनुरुप साझेदारी र सहकार्य हुनेछ । अपराध रोकथाम, सुरक्षा, सचेतना अभिवृद्धिका कार्यक्रमहरु (बिशेष गरी लागूऔषध नियन्त्रण, महिला तथा बालबालिका माथि हुने अपराध, सडक सुरक्षा ईत्यादि) संयुक्त रुपमा कार्यान्वयन गरिनेछ । नेपाल प्रहरीले आयोजना गरेका ‘समुदाय-प्रहरी साझेदारी’ का समुदाय र विद्यालय केन्द्रित कार्यक्रमहरुमा नेपाल स्काउटले सक्रिय सहभागिता र योगदान गर्नेछ भने नेपाल स्काउटले आयोजना गरेका कार्यक्रमहरुमा पनि नेपाल प्रहरीले सक्रिय सहभागिता र योगदान गर्नेछ ।नेपाल स्काउटका कार्यक्रमहरु र सदस्यहरुको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीले दक्ष प्रशिक्षकहरु उपलब्ध गराउनेछ । नेपाल स्काउटका पदाधिकारीहरु र स्काउटहरु (Rover, Ranger & Scouters) ले समुदाय-प्रहरी साझेदारी अन्तर्गतका सामुदायिक र विद्यालय कार्यक्रमहरुमा प्रशिक्षकको रुपमा योगदान गर्नेछन् ।

विपद व्यवस्थापन, विशेष अभियानहरु र जनचेतना अभिवृद्धिको लागि नेपाल प्रहरी र नेपाल स्काउटका सदस्यहरु एकीकृत रुपमा परिचालन हुनेछन् । नेपाल प्रहरीका स्थानीय इकाईहरुले समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुरुप एकीकृत स्वयंसेवक परिचालनको संयोजन गर्नेछन् ।

आवश्यकता अनुसार यस्तो एकीकृत परिचालनको लागि Emergency and Rescue Drill हरुको संयुक्त अभ्यास गरिनेछ । नेपाल स्काउटका सदस्यहरुलाई सडक सुरक्षा, विपद व्यवस्थापन जस्ता विषयहरुमा व्यवहारिक अभ्यास गराईनेछ । यसरी स्वयंसेवकहरूको रूपमा परिचालन भएका स्काउटरहरूलाई नेपाल प्रहरीले सामुदायिक सेवाको प्रमाणपत्र प्रदान गर्नेछ ।

नेपाल स्काउटका सम्पूर्ण सदस्यहरुलाई समुदाय-प्रहरी साझेदारी अन्तर्गतको ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सञ्चालन गरिनेछ । साथै नेपाल स्काउटका जिल्ला स्थित कार्यालयहरुले नेपाल प्रहरीका महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी निश्चित तालिका बनाएर सम्पूर्ण स्काउटहरुलाई यो समझदारी भएको मितिले तीन महिनाभित्र प्रहरी कार्यालयको भ्रमण गराई प्रहरी कार्य र सेवा प्रवाहको बारेमा अभिमुखीकरण गराई व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गर्नेछन् ।

नेपाल प्रहरीले नेपाल स्काउटका पदाधिकारी र (Scout Master) अन्य सदस्यहरुको लागि समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध नियन्त्रण, साइवर अपराध, लैङ्गिक हिंसा र अपराध लगायतका नवीन सुरक्षा र अपराध चुनौतिहरू (Emerging Security/Criminal Threats) का बारेमा सुरक्षा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ जुन कार्यक्रमहरु साझेदारीको मान्यता अनुरुप संयुक्त रुपमा सञ्चालन गरिनेछ ।

नेपाल प्रहरीले विभिन्न प्रशिक्षण माध्यमबाट नेपाल स्काउटको क्षमता अभिवृद्धि, नेतृत्व विकासमा सहयोग गर्नेछ साथै नेपाल स्काउटले पनि विभिन्न परियोजना, योजना अन्तर्गत साझेदारीका क्षेत्रहरुमा नेपाल प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ ।

समझदारी पत्रमा हस्ताक्षरसँगै, दुबै पक्षबाट संस्थागत गोपनीयता, अनुसन्धानको क्रममा रहेका विषय र परिस्थितिजन्य कारणले प्रकाशन गर्न अनुपयुक्त सम्वेदनशील सूचनाहरू बाहेक शोध, अध्ययन र योजनाको लागि सूचना र तथ्याङ्कहरूको आदान प्रदान लाई सहज तुल्याएको छ ।

समझदारी कार्यान्वयनको लागि नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय, सामुदायिक सुरक्षा महाशाखा प्रमुख र नेपाल स्काउटको तर्फबाट Assistant Director, Organizational Development ले Focal Point को रूपमा समन्वय गर्नेछन् । [:]