सम्माननीय राष्ट्रपतीज्यू र कर्णाली प्रदेश स्काउट मास्टरहरुबीच भेट

सम्माननीय राष्ट्रपतीज्यू र कर्णाली प्रदेश स्काउट मास्टरहरुबीच भेट

मिति २०७८ पौष १५ गते सम्माननीय राष्ट्रपती श्री बिद्यादेवी भण्डारीज्यूले ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनीमा बि.टी.सी, पी.टी.सी तालिम सम्पन्न गरेका कर्णाली प्रदेशका एक सय एक्काइस जना स्काउट मास्टरहरुलाई भेट दिनु भएको छ । भेटघाटका अवसरमा सम्माननीय राष्ट्रपतीज्यूले दीक्षित स्काउट मास्टरहरुलाई बधाई समेत दिनु भयो ।

भेटघाट समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक श्री लोक बहादुर भण्डारी, सदस्यहरु श्री बिजेन्द्र ध्वजु, श्री इन्द्र भुषण अधिकारी, श्री सीमा कर्ण, नेपाल स्काउट कर्णाली प्रदेश संयोजक श्री कमल बोहरा, नेपाल स्काउटका कन्सल्ट्याण्ट श्री देवराज घिमिरे एवम् नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरका कर्मचारीहरुको सहभागिता रहेको थियो । सम्माननीय राष्ट्रपतीज्यूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीज्यूले नेपाल स्काउटको स्कार्फ प्रदान गर्नु भएको थियो ।

उक्त समारोहमा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारीज्यू आँफु, अदालतको निर्णयलाई शिरोपर गर्दै पुनः नेपाल स्काउटको राष्ट्रिय संयोजकको जिम्मेवारीमा फर्किएको स्मरण गराउँदै ऐन, नियमावली, निर्देशिका एवम् प्रचलित कानूनको अधीनमा रही नेपाल स्काउटको बार्षिक नीति तथा कार्यक्रम अनुसार १३,००० विद्यालयहरुमा स्काउट शिक्षाको विस्तार मार्फत दक्ष एवम् सक्षम युवाहरुको बिकास गरी उनीहरुलाई सुन्दर एवम् समृद्ध समाजको निर्माणमा समर्पित गराउने लक्ष्य प्राप्ती तर्फ, उन्मुख रहेको कुरा बताउनु भयो ।

नेपाल स्काउट कर्णाली प्रदेश संयोजक श्री कमल बोहराले कर्णाली प्रदेशका प्रत्येक पालिकामा स्काउट शिक्षा बिस्तार गर्दै समृद्ध कर्णाली निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । साथै, उहाँले स्काउटरहरु मार्फत कर्णालीको पर्यटन प्रवर्धन समेत गर्न सकिने तथ्य औंल्याउनु भयो ।

महिला सहभागीहरुका तर्फबाट गोमा पौडेल, सुर्खेत र पुरुष सहभागीहरुका तर्फबाट डिल्लीराम आचार्य, दैलेखले  सम्माननीय राष्ट्रपतीज्यू समक्ष कर्णाली प्रदेशका समस्याहरु राख्नु भएको थियो । भौगोलिक रुपमा पिछडिएको कर्णाली प्रदेश स्वास्थ्य, शिक्षा, रोजगारी एवम् भौतिक पूर्वाधारहरुबाट समेत बञ्चित रहेको कुरा बताउँदै यसको उपयुक्त समाधानका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष अनुरोध गर्नु भयो । सहभागीहरुका समस्या सुनिसकेपछि सम्माननीय राष्ट्रपतीज्यूले कर्णालीको प्राकृतिक सुन्दरता र सम्पदालाई प्रवद्र्धन गर्दै, प्राप्त सम्पदाहरुमाथि गर्व गर्नु पर्ने कुरा बताउनु भयो । कर्णाली सँग सँगै सिंगो मुलुकको समृद्धि आफ्नो प्राथमिकतामा रहेको बताउँदै सम्माननीय राष्ट्रपतीज्यूले हरेक नेपालीको समृद्धिका लागि उपयुक्त योजना ल्याउन सम्बन्धित पक्षहरुलाई निर्देशन दिने कुरा बताउनु भयो ।

सम्माननीय राष्ट्रपतीज्यूले विद्यालयतहदेखि नै आँफु स्काउट र यसका गतिविधिहरुको बारेमा जानकार रहेको कुरा सहभागीहरुलाई बताउनु भयो । यो एक विशुद्ध स्वयंसेवी सस्था भएको हुँदा संस्थागत मूल्य, मान्यता एवं विश्व स्काउटका आदर्शहरुलाई आत्मसाथ गर्दै आफ्ना सबै किसिमका गतिविधिहरुलाई निर्वाध रुपमा अघि बढाउन निर्देशन दिनु भयो ।

विद्यालय तहदेखि नै स्काउट र यसका गतिविधिहरुको विस्तारका लागि आफ्नो तर्फबाट बजेट ब्यवस्थापनदेखि अन्य हरसम्भव सहयोग रहने विश्वास दिलाउँदै, संस्थागत विस्तारका लागि सम्बन्धित निकायहरुलाई समेत निर्देशन दिने कुरामा सहभागीहरुलाई आश्वस्त पार्नु भयो । उहाँले नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीज्यूबाट समय समयमा संस्था र यसका विविध गतिविधिहरुका बारेमा आँफुले जानकारी लिइरहेको तथ्य सहभागीहरुलाई बताउनु भयो ।

सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा सम्माननीय राष्ट्रपतीज्यूले अदालतको निर्णयलाई सबैले मान्नु पर्ने कुरा बताउनु भयो । अदालत भन्दा माथि कोही नहुने र आँफुले पनि अदालतको निर्णयलाई स्वीकार गरी अगाडि बढेको तथ्य स्मरण गराउनु भयो । नेपाल स्काउटको हकमा पनि अदालतको निर्णयलाई सबैले स्वीकार गर्नु पर्ने कुरामा जोड दिनु भयो ।