सम्माननीय राष्ट्रपतीज्यू र सुदुरपश्चिम प्रदेश स्काउट मास्टरहरुबीच भेट

सम्माननीय राष्ट्रपतीज्यू र सुदुरपश्चिम प्रदेश स्काउट मास्टरहरुबीच भेट

मिति २०७८ पौष २१ गते सम्माननीय राष्ट्रपती श्री बिद्यादेवी भण्डारीज्यूले ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनीमा बि.टी.सी, पी.टी.सी तालिम सम्पन्न गरेका सुदुरपश्चिम प्रदेशका स्काउट मास्टरहरुलाई भेट दिनु भएको छ । भेटघाटका अवसरमा सम्माननीय राष्ट्रपतीज्यूले दीक्षित स्काउट मास्टरहरुलाई बधाई समेत दिनु भयो ।
भेटघाट समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक श्री लोक बहादुर भण्डारी, सदस्यहरु श्री बिजेन्द्र ध्वजु, श्री शिब बहादुर भण्डारी, नेपाल स्काउट सुदुरपश्चिम प्रदेश संयोजक श्री नरेन्द्र थापा, नेपाल स्काउट एवम् विश्व स्काउटका कन्सल्ट्याण्ट श्री देवराज घिमिरे, WAGGGS Global Programmes Manager श्री प्रेरणा शाक्य एवम् नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरका कर्मचारीहरुको सहभागिता रहेको थियो । सम्माननीय राष्ट्रपतीज्यूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीज्यूले नेपाल स्काउटको स्कार्फ प्रदान गर्नु भएको थियो । समारोहमा सम्माननीय राष्ट्रिपतीज्यूले नेपाल स्काउट बार्षिक प्रतिवेदन (२०२० – २०२१) को विमोचन गर्नु भएको थियो ।
उक्त समारोहमा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारीज्यूले विश्व स्काउटको मूल्य, मान्यता एवं आदर्शलाई आत्मसात गर्दै देशभरका १३,००० सामुदायिक विद्यालयहरुमा स्काउट शिक्षा पु¥याउँदै देशका दूर दराजबाट विकृति, विसंगती हटाउने अभियानलाई तीव्रता दिन नेपाल स्काउट लागि परेको बताउनु भयो ।
नेपाल स्काउट कर्णाली प्रदेश संयोजक श्री नरेन्द्र थापाले आर्थिक एवम् प्राकृतिक रुपमा पिछडिएको क्षेत्र सुदुरपश्चिमबाट छाउपडी प्रथा लगायतका सामाजिक कुरिती एवम् कुसंस्कारहरु उन्मुलनका लागि प्रशिक्षित स्काउट माष्टरहरु लाग्ने र सुदुरपश्चिमलाई एउटा असल स्काउट क्षेत्रको रुपमा उभ्याउँदै नमूना स्काउट क्षेत्रको रुपमा बिकास गर्ने प्रतिवद्वता ब्यक्त गर्नु भयो ।
पुरुष सहभागीहरुका तर्फबाट जय बहादुर कार्की (बाजुरा) ले सम्माननीय राष्ट्रपतीज्यूलाई भेट्न पाउँदा आँफुहरु अत्यन्त खुशी भएको कुरा बताउनु भयो । महिला सहभागीहरुका तर्फबाट सुमित्रा कुँवर (दार्चुला) ले राष्ट्रपतीज्यू समक्ष आफ्ना प्रदेशका समस्याहरु राख्नु भएको थियो । आर्थिक, प्राकृतिक एवम् सामाजिक रुपमा पिछडिएको सुदुर पश्चिममा महिलाहरुका समस्या बढी भएको र ती समस्या समाधानतर्फ राष्ट्रपतीज्यूको ध्यान आकृष्ट गर्नु भएको थियो । साथै, देशको राष्ट्राध्यक्ष महिला नै भएको वर्तमान अवस्थामा महिला केन्द्रित समस्याहरु समाधान हुने कुरामा आँफुहरु बढी नै आशावादी भएको कुरा ब्यक्त गर्नु भयो ।
सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा सम्माननीय राष्ट्रपतीज्यूले समाज रुपान्तरणमा स्वयंसेवी संस्थाहरुको ठूलो भूमिका रहेको हुन्छ, स्काउट अनुशासन, नैतिकता एवम् आदर्शको पर्याय भएको हुँदा दीक्षित स्काउट माष्टरहरुले आँफुले सिकेका ज्ञान, सीप बालबालिकाहरुमाझ बाँड्दै समृद्ध समाज निर्माणमा लाग्नु पर्ने बताउनु भयो । सम्माननीय राष्ट्रपतीज्यूले महिलाहरुको उत्थान एवम् सशक्तिकरणमा नै समग्र राष्ट्रको उत्थान निर्भर रहने हुँदा महिला उत्थान एवम् सशक्तिकरणका लागि आँफुले सक्दो प्रयास गरिरहेको तथ्य सहभागीहरुलाई बताउनु भयो ।
पुरुष तर्फ १८१ र महिला तर्फ ७७ गरी कूल २५८ जनाले बि.टी.सी, पी.टी.सी तालिम प्राप्त गरेका थिए ।