प्रमुख स्काउटद्वारा दीक्षा ग्रहण

प्रमुख स्काउटद्वारा दीक्षा ग्रहण

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय डिग बहादुर लिम्बु ज्यूले मिति २०८० बैशाख ३१ गते नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित दीक्षान्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारी ज्यूबाट प्रमुख स्काउटको रुपमा दीक्षित हुनुभएको छ । साथै युवा तथा खेलकुद सचिव श्रीमान सूर्य प्रसाद गौतम ज्यूले पनि नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्यको रुपमा दिक्षा लिनुभएको छ ।

दीक्षान्त समारोह कार्यक्रममा बोल्दै माननीय प्रमुख स्काउट एवं मन्त्री लिम्बु ज्यूले देशका सबै बालबालिका तथा युवाहरुलाई स्काउट अभियानमा समाबेश गराई एक घर एक स्काउटको अबधारणालाई प्राथभिकताका साथ कार्यक्रम बनाई लागू गर्न भूमिका खेल्ने बताउनुभयो । यसका साथै आजका युवाहरुमा व्याप्त विकृती र विसंगतीलाई स्काउट अभियान मार्फत निर्मुल पार्दै, युवाहरुलाई जिम्मेबार बोधको भावना अभिवृद्धि गराई राष्ट्र प्रति गौरव गर्ने, स्वयंसेवकीय कार्यमा सक्रिय गराउने र विपद् व्यवस्थापन लगायतका कार्यमा संग्लग्न गरार्ई राष्ट्र निमार्णमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । युवा तथा बालबालिकाहरुको समग्र विकासमा युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । युवा लक्षित साझा धारणाको विकास गरि कदममा कदम मिलाई नेपाल स्काउट र मन्त्रालय बीच सामाजिक रुपान्तरण, सुशासन र आर्थिक उन्नतीका लागि हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउदै मन्त्रालय सधै साथमा रहिरहने प्रतिबद्धता जनाउनुभयो । ऐन जस्तो कुरा समय समयमा अधाबधिक हुनु पर्नेमा तीन दशक देखि नेपाल स्काउट ऐन २०५० संसोधन नसकोकाले आफ्नै नेतृत्वमा समयानुकुल ऐन संसोधन गरी स्काउटको विकास र विस्तारलाई गति दिने मन्त्री लिम्बुले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसका साथै नेपाल स्काउट परिवारलाई आभार व्यक्त गर्दै बाल्यकालमा आफुपनि स्काउट रहेको स्मरण गर्नुभएको थियो ।

दीक्षान्त पश्चात कार्यक्रममा आफ्नो मन्तव्य राख्दै श्रीमान सचिव सूर्य प्रसाद गौतम ज्यूले प्रत्येक घरमा स्काउट पुर्याउने नेपाल स्काउटको उद्देश्य व्यवहारिक र उपयोगी कदम भएकोले यस विषयलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि केन्द्र र प्रदेशका सरोकारवाला मन्त्रालयहरु तथा स्थानीय सरकारहरु बीच थप छलफल गर्ने र छिटै निष्कर्षमा पुगी ७५३ वटै स्थानीय तहमा सहज रुपमा समन्वय गरि स्काउटिंग गतिविधीहरु संचालन गर्न सहयोग गर्ने बताउनुभयो । साथसाथै, नेपाल सरकारले निमार्ण गर्दै गरेको बार्षिक नीति तथा कार्यक्रममा विश्वविद्यालयमा पनि स्काउटिंग कार्यक्रमको शुरुवात गर्न नीतिगत तयारी गरिने जानकारी गराउनुभयो । उहाँले विपद् व्यवस्थापनमा नेपाल स्काउट एउटा अपरिहार्य शक्ति भएको जिकिर गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा समाबेश गर्न मन्त्रालयबाट नै पहल गर्ने बिचार व्यक्त गर्नुभयो ।

उक्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारी ज्यूले विगत चार बर्षमा नेपाल स्काउटले गरेको प्रगतिहरुको सार संक्षेपमा जानकारी गराउनुभएको थियो । नेपाल स्काउट अन्तरगत संचालित कार्यक्रमहरुको हाल सम्मको प्रगति विवरण, समस्या, चुनौतीहरुको बारेमा नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई ज्यूले माननीय मन्त्री समक्ष संक्षिप्त जानकारी गराउनुभएको थियो ।

दीक्षान्त समारोह पश्चात माननीय मन्त्री ज्यू र सचिव ज्यूले नेपाल स्काउट परिसरमा रहेको भवनहरुको अवलोकन पनि गर्नुभएको थियो ।